जन्म दिनको पार्टी मा झडप हुँदा विवाद हत्यामा टुंगियो
मोरङको बूढीगंगा गाउँपालिका-६ स्थित कोयलपुरमा ‘ग्याङ फाइट’ हुँदा एक जनाको ज्यान नै गएको छ। आइतबार एक बर्थ डे पार्टीपछि सामान्य विवादले उग्र रुप लिँदा हत्या भएको हो। युवाहरुको दुई समूहबीच झगडा हुँदा धनकुटा पाख्रीबास घर भइ इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरेर बस्ने २६ वर्षीय रिजन दाहालको हत्या भएको हो।
बूढीगंगा ६ मा बर्थ–डे (जन्मदिन) मनाउन रिजन आइतबार राती साथिको घर गएका दाहालको बर्थ डेको पार्टीमा आएर मदिरा पिएका दुई युवा समूहबीच विवाद हुँदा हत्या भएको हो।
बुढीगंगा ६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायतका समूहसँग दाहालको विवाद भएको थियो।
दुई तर्फबीच विवाद बढदै गएपछि बुढीगंगा ६ डम्बरबहादुर लिम्बुको बारीमा लगी अर्को समूहले रिजनलाई आक्रमण गरेका थिए। उनीमाथि धनबहादुरसहित सात जनाको समूहले खुकुरी हानेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
टाउकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते भएका उनको उपचारका अस्पताल लग्दै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए।
शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ। झगडा छुट्याउन गएका नानु लिम्बु र कमल थापा पनि घाइते भएका छन्। लिम्बुको दायाँ हातमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।
हत्या गरिएका दाहाल र घाइते थापा खनारमा डेरा गरेर बस्दै आएका थिए। दुवै जना खनारस्थित रिलायन्स धागो उद्योगमा कार्यरत रहेको प्रहरीले जनाएको छ । शनिबार राती रिजन र बुढीगंगा ६ डल्लेपुरका २५ वर्षीय धनबहादुर तामाङको झगडा भएको थियो।
झगडा हुँदा रिजनले धनबहादुरलाई एक झापड हानेका थिए। त्यही झापड हानेको विषयलाई लिएर जन्मदिनको पार्टीको मौका छोपी आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए।
घटनापछि प्रहरीले दुई जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ। प्रहरीले बूढीगंगा ७ का २५ वर्षिय अजय श्रेष्ठ र धनकुटा नगरपालिका-४ देव्रेबास घर भइ इटहरी १३ बस्दै आएका २४ वर्षिय कमल थापालाई नियन्त्रणमा लिएर घटनाबारेमा अनुसन्धान सुरु गरेको छ।