मुंग्रो प्रहार गरी श्रीमतीको हत्या।श्रीमान पक्राउ

मुंग्रो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ
मुंग्रो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका-७ का ५६ वर्षीय अम्बिका घिमिरे रहेका छन्।
४८ वर्षीया श्रीमती सीता घिमिरेको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
शनिबार बिहान सीताको सुतेकै स्थानमा शव फेला परेको थियो। उनको टाउकोबाट अत्यधिक रगत बगेको थियो।
अनुसन्धान गर्दै जाँदा घरभित्र मुंग्रो फेला परेको थियो। त्यसमा रगतका छिटा थिए।
त्यसपछि प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो।उनले मादक पदार्थ सेवन गरेर घर जाँदा श्रीमतीसँग वादविवाद भएको बताएका छन्। वादविवादपछि सुतेका घिमिरेले बिहान साढे २ बजे उठेर श्रीमतीको टाउकोमा मुंग्रो प्रहार गरेको बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बताए।
श्रीमतीलाई प्रहार गरेपछि घिमिरे घरदेखि दुई किलोमिटर दक्षिणको गोठमा लुकेर बसिरहेका थिए।