शिवशक्तिबाबाको चुलिदो चर्चा, झारफुक गरेको पैसा समाजसेवामा मोरङको लेटाङका शिवशक्ति बाबाको चर्चा चुलिएको छ ।

शिव शक्ति बाबा
शिव शक्ति बाबा

लेटाङ नगरपालिका–९, जाँतेमा रहेको शिवशक्ति बाबाको खुबै चर्चा–परिचर्चा भइरहेको हो । बाबाले आयुर्वेद र थेरापीको माध्यमबाट पक्षघात, हिँड्न नसक्नेजस्ता असाध्य रोगहरु उपचार गर्दै आएका छन् । दिनहुँ सयौँको संख्यामा छिटो निको हुने आशमा बिरामी र उनका आफन्तजन जाँतेमा ओइरिरहेका छन् ।

इलाम जिल्लाको लुम्डे निवासी बुबा डा बिबिपी बलबहादुर पुर्वछाने मगर र आमा फूलमाया पुर्वछाने मगरको तेस्रो सन्तान तथा ज्येष्ठ सुपुत्रको रुपमा विसं २०३० सालमा जन्मनुभएका सुजनकुमार पुर्वछाने मगर अर्थात कुनै बेला मिलन भनेर चिनिएका शिव पुर्वछाने मगर नै हुन, अहिलेका चर्चित शिवशक्ति बाबा ।

करिब ५.५ फिट उचाइका गोलो अनुहार, गठिलो शरीर, आकर्षक जीउडाल, लामो कपाल पालेका, माथि ठाडो जुरो बाँधेका कुनै नेपाली म्युजिक भिडियोका नायक तथा कुनै हिन्दी सिनेमाका खलपात्र डनजस्ता देखिने यी बाबा व्यवहारमा भने मिलनसार, मिजासिला, फरासिला र सहयोगी भावना भएका व्यक्ति छन् ।

उनले उपचार गरेका धेरैजसो बिरामी प्यारालाईसिसका बिरामीहरु ठमठम हिँडेका छन्। तर समाजमा केही गरौं भन्ने मानिसको खुट्टा तान्ने मान्छे हुन्छन् । बाबालाई बिभिन्न आरोप लगाएर बदनाम गर्न खोज्नेहरु नभएका होईनन् । तर आफुलाई कुनै प्रवाह नपर्ने शिवशक्ति बाबाको भनाई छ । उहाँ भन्नुहुन्छ, सत्यको बाटोमा हिँडेको छु।

केटाकेटीमा गाउँको स्कुलमा पढेको, ३ वर्षको हुँदा गुम्बामा पनि बसेका उनीले केटाकेटी हुँदा गाउँमा कोही बिरामी भयो भने मैले ढ्याक्क टाउकोमा हात राख्नासाथ निको हुन्थियो रे ।
अहिले बाबा एउटा १०० जनाजति अटाउने प्यारालाइसिसको उपचार गर्ने भवन निर्माण गरिहेका छन् । म कोहीसँग पैसा माग्दिनँ, म आफैँ कमाएर बनाउँछु ।

अस्ति एक जना लाहुरे आको थ्यो कि, उसले ल मलाई निको बनाई दे, म जति भन्छ त्यति पैसा दिन्छु भन्या थ्यो, मैले ल म दुई दिनमा निको बनाउँछु, मलाई १ करोड दिनुपर्छ भनेँ । त्यसपछि त्यो मान्छे कहाँ गयो, धेरै भयो भेट पनि भाको छैन । यस्तै रहेछ, भयो मलाई चाहिँदैन । कस्तो भने मलाई कोही गरिब मान्छे देख्यो भने सहयोग गरिहाल्नुपर्ने के । अघि २ जनाले मासु खान मन लाग्यो भन्यो, मैले १ हजार निकालेर दिई पठाएँ । यहाँ १ हजारको राम्रै भाले आउँछ, भइहाल्यो नि । अस्ति नै २ जना बूढाबूढी आथ्यो कि, कहाँबाट पो हो ? नजिकै बसेकी उनकी श्रीमतीले भनिन् तेह्रथुमबाट, अँ तेह्रथुमबाट ।’ उनीहरु आउने बेलामा ६ हजार लिएर हिँडेको रहेछ । गाडी, अटो चढ्दै यहाँसम्म आँउदा अलिअलि खर्च भयो होला । मलाई सबै थाहा भइसक्या थ्यो कि उनीहरुसँग अझै ४ हजार ९ सय थियो । तर, उनीहरुले बाटोखर्च पनि छैन भने, मैले उल्टो ५ हजार देर पठाएँ । मलाई कोही मान्छे देख्नासाथ यसको मनमा के छ भन्ने कुरा थाहा भइहाल्छ । मलाई भगवानले भनिसकेको हुन्छ ।
तपाई अन्तरयामी हो भन्ने प्रश्नमा शिवशक्ति भन्नुहुन्छ
अँ अँ, अन्तरयामी । मलाई सबै थाहा हुन्छ । कसैले पैसा छैन भन्यो भने म एक पैसा पनि लिन्नँ, बरू कत्तिलाई बाटोखर्च देर पठाको छु ।

शिवशक्तिले आफुले उपचार गरेर आर्जेको रकम गाउँको खेलकुद तथा बिकास निर्माणमा सहयोग गर्दै आउनुभएको छ । अस्ति भरखरै भएको जाते भेटरान फुटबलमा उहाँले सहयोग गर्नुभयो । उहाँभन्नुहुन्छ, साथीभाईहरु आएर सहयोग गर्नुपर्यो भन्नुभयो, मैले सहयोग गरे । किनकी गाउँको सामाजिक काममा सबैको उत्तरदाहित्व छ। मरि लानु केहि छैन । केहि छैन । चाँहेका भए म विश्वका राम्रै देशमा सुखसयलमा बस्न पनि सक्थे । तर मलाई मेरै देशको माया छ, यहि बसेर बिरामीको सेवा गर्न मन छ ।