मोरङको लेटाङ नगरपालिका -८ स्थित ज्यामिरेकी ११ वर्षिया बालीका करुणा राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६३ वर्षिय दिपक गिरीलाई पक्राउ गरेको छ ।
गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । गिरीले बुधबार पाँच बजे स्कूलबाट घर फर्किएकी करुणालाई बलात्कार गरेपछि हत्या गरेको स्वीकार गरेको एसपी जिसीले बताए ।
https://youtu.be/qwxJ5f2qpzY
गत बुधबार दिउँसोबाट बेपत्ता उनी जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन् । स्कुलबाट घर फर्किनेक्रममा बेपत्ता भएपछि खोजी गर्नका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए । खोजी गर्ने क्रममा शव गाडेर माथिबाट ढुङ्गाले छोपेको अवस्थामा भेटिएको हो ।
बलात्कार गरेपछि बालिकाको मुख थुनेर हत्या गरेपछि ढुङ्गाले थिचेर हिडेको बयानको क्रममा स्वीकार गरेका छन्,’ एसपी जिसीले भने, ‘अहिलेसम्मको प्रराम्भिक अनुसन्धानबाट गिरीको मात्र संलग्न देखिएको छ । थप अनुसन्धान भइरहेको छ ।’
पक्राउ परेका गिरीको एक महिना अगाडी श्रीमतिको मृत्यु भएको थियो । श्रीमतिको मृत्यु भएपछि उनी एक्लै बस्दै आएका थिए ।पक्राउ परेका गिरीले बालिका हत्या गरेको स्थान उनको घरदेखि एक किलोमिटर दक्षिणमा पर्दछ ।
स्कूलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शुक्रबार विहान लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र केराको झ्याङ भित्र नाङ्गो अवस्थामा भेटिएको थियो ।प्रहरीले उत्खनन गरी उनको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।
प्रहरीले खाल्डोबाट बालिकाको शव उत्खनन गरेर बाहिर निकाल्दा घटनास्थल तनावपूर्ण बनेको थियो । करिब पाँच सयको सङ्ख्यामा भेला भएका स्थानीयले नाराबाजी र प्रदर्शन गरेर घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए ।